लमही, पुस १३ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेटअन्तर्गत् विभागीय टोली एपीएफले लुम्बिनी प्रदेशसामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ। दाङको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनायो।
एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रनको योगदान गरिन्। अर्धशतक बनाउनबाट एक रनले चुकेकी उनले ५४ बल खेल्दै एक चौकाको सहयोगमा ४९ रन बनाएकी हुन्। एपीएफका लागि इन्दु बर्माले २८ रन जोडिन्। त्यस्तै, राजमती ऐरीले ११ रन बनाउँदा सरिता मगरले १० रनको योगदान गरिन्।
बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले दुई विकेट लिइन्। त्यस्तै, सरस्वती पुन र कृतिका मरासिनीले समान एकरएक विकेट हात पारे।आजको खेलमा जित निकाल्दै दुवै टोली समूह ‘ए’को विजेता बन्ने योजनमा छन्। यसअघिका खेलहरुमा दुवै टोलीले सहज जित हासिल गरेका थिए।


























