काठमाडौं, पुस १३ । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर शैलीमा अघि बढ्न खोजेको आरोप लगाएका छन्। सोमवार जनसांस्कृतिक महासंघको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले ओलीले लोकतन्त्रको निर्मम हत्या गरेको आरोप लगाएका हुन् ।
‘केपी ओली जङ्गेको बाटोमा हिँडे, उनी पराजित भएका छन्,’ प्रचण्डले भने, ‘इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो। इतिहासमा ओली पराजित भए, कलंकको टीका लगाए। हाम्रो विजयको अभियानको शुरूआत भयो। हामी संविधानको पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडकमा आयौं भनेको जनतासँग गयौं भनेको हो।’
उनले संसद जीवितै रहेको समेत दाबी गरे। ‘संविधानले दिँदै नदिएको अधिकार, हुँदै नभएको अधिकार प्रयोग गरिएको छ। मैले भन्ने गरेको छु, सदन जीवित छ। विघटन भएको केपी ओलीको सरकार हो। संविधानको मर्म विपरीत चलेपछि सरकार विघटित भएको हो,’ उनले भने।
उनले सर्वोच्चले यति सामान्य कुरा बुझ्ने विश्वास व्यक्त गरे। ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्दैन भन्ने हो भने हामी आफैं वास्तवमा अदालतको सम्मानप्रति अपमान हुन्छ भन्ने मलाई लाग्छ। छिट्टै सदन सुचारु गर्ने आदेश आउँछ भन्ने विश्वास गर्छु,’ प्रचण्डले भने।


























