दाङ, पुस १३ । महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि-२० प्रतियोगितामा आफ्नो समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेश नम्बर २ सँग १ सय ४३ रनले पराजित भएको छ। कर्णाली तीनै खेलमा फराकिलो हार बेहोर्दै समूह ए बाट पुछारमा रहँदै बाहिरियो।
जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ९ विकेट गुमाउँदै २२ रन बनायो। एक समय ११।३ ओभरमा १९–९ को अवस्थामा रहेको कर्णालीलाई आयुशा टन्डन र दीपा रानाले अन्तिम ओभर सम्म लगेर गएका थिए। दीपा २५ बल खेल्दै १ रनमा अविजित रहिन्। आयुशा ३८ बलमा ४ रनमा अविजित रहिन्। अन्तिम विकेटका लागि दीया र आयुशाले ५१ बल खेल्दै ३ रन जोडेका थिए।
कर्णालीकी ओपनर तृसना विश्वकर्माले सर्वाधिक ७ रन बनाइन्। कर्णालीका ६ ब्याटरले खाता खोल्न सकेनन्। मोनिका राना, लक्ष्मी रिमाल, अन्जु गुरुङ, सुजिता बोगटी, निशा पराजुली, स्वेता थापा शून्यमा आउट भएका थिए। दीक्षा पुरी २ र अन्शु शाक्य १ रनमा आउट भइन्।
प्रदेश २ की कप्तान सरस्वती कुमारीले ४ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर ३ विकेट लिइन्। कविता गौतमले ४ ओभरमा २ मेडन राख्दै ५ रन खर्चेर ३ विकेट लिइन्। आरती चौधरी र सन्तोषी चौधरीले १–१ विकेट लिए।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनाएका थिए। प्रदेश २ की ओपनर अनुराधा चौधरी ६० बलमा ६ चौका सहित ६९ रनमा अविजित रहिन्। जारी प्रतियोगिताको दोस्रो अर्ध शतक हो। पहिलो अर्धशतक कर्णालीविरुद्ध एपिएफकी कप्तान सीता रानमगरले प्रहार गरेकी थिइन्।
अनुराधाले ४९ बलमा अर्ध शतक प्रहार गरेकी थिइन्। अनुराधाले १७ औं ओभरको चौथो बलमा सुजिता बोगटीलाई चौका प्रहार गर्दै अर्ध शतक प्रहार गरेकी थिइन्। विमला मगर २५ बलमा ३ चौका सहित २१ रनमा बोल्ड आउट भइन्। कविता गौतम २ रनमा अविजित रहिन्।
ओपनर शोभा आले २४ बलमा २ चौका सहित २३ रनमा एलबिडब्लू आउट भइन्। सन्तोषी चौधरीले १८ बल खेल्दै ८ रनमा क्याच आउट हुन पुगिन्। पहिलो विकेटका लागि शोभा र अनुराधाले ७.२ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। स्पिनर निशा पराजुलीले शोभालाई एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन्।
१२ औं ओभरको अन्तिम बलमा पराजुलीले अन्जु गुरुङबाट सन्तोषीलाई क्याच आउट गराएकी थिइन्। अन्तिम ओभरको पाँचौ बलमा सुजिताले बिमलालाई बोल्ड गरेकी थिइन्। स्पिनर निशा पराजुलीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन्। मध्यगतिकी बलर सुजिता बोगटीले एक विकेट लिइन्। भर्खर क्रिकेटमा सिक्दै गरेका खेलाडीको बाहुल्यता भएको कर्णालीका बलरले एक्स्ट्रास्वरुप ४३ रन दिएका थिए। जसमा ३० वाइड सामेल थियो।
कर्णाली पहिलो खेलमा एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा लुम्बिनीसँग ९ विकेटले पराजित भएको थियो। पहिलो खेलमा एपिएफविरुद्ध २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली १४.१ ओभरमा ३१ रनमा अल आउट भएको थियो। प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग ९ र एपिएएफसँग ८ विकेटले पराजित भएको थियो। समूह ए बाट एपिएफ र लुम्बिनी सेमिफाइनलमा पुगेका छन्।


























