मंसिर १० । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति लिभरपुलले एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ। लिभरपुलले घरेलु मैदानमा इटालियन क्लबसँग खेल्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ।
घरेलु मैदानमा लिभरपुल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ। समूह ‘डी’ मा रहेको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ। लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ। घरेलु मैदानमा एटलान्टालाई हराएर लिभरपुल नकआउट चरणमा पुग्न चाहन्छ।
यस अघिको भेटमा लिभरपुलले एटलान्टालाई ५-० गोल अन्तरले पराजित गरेको थियो। कोरोना संक्रमणबाट मुक्त भएका स्ट्राइकर मोहमद सलाहले एटलान्टाविरुद्ध खेल्ने सम्भावना रहेको छ।
यता, एटलान्टा भने अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ। यस्तै एटलान्टा जित निकाल्दै अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ। एटलान्टा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
यसै समूहको अर्को खेलमा आयाक्सले मिद्त्जील्यान्डसँग खेल्नेछ। आयाक्स ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मिद्त्जील्यान्ड अंक विहीन रहदै पुछारमा रहेको छ।


























