चितवन १० मंसिर । मदन भण्डारी फाउण्डेशन चितवनले अतिरञ्जनपूर्ण आक्षेप र भ्रमणहरुबाट विचलित नहुन आव्हान गरेको छ। फाउण्डेशनले बुधबार एक विज्ञप्ति प्रकाशित गरी संस्थामाथि लगाइएका समाजमा कलुषित भावना फैलाउने अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आग्रह गरेको हो। जिल्ला अध्यक्ष डा.तिलचन्द्र भट्टराई र सचिव श्याम बिष्टद्वारा जारी विज्ञप्तिमा कानुन प्रदत्त अधिकार प्रयोग गर्दै संस्थाको लक्ष्यअनुरुप बौद्धिक विमर्श र सामाजिक रुपान्तरणका क्रियाकलापहरूलाई निरन्तर अघि बढाउनसमेत सम्पूर्ण सदस्यहरुलाई आव्हान गरिएको छ।
विज्ञप्तिमा भनिएको छ ‘फाउण्डेशन अन्तर्राष्ट्रिय प्रसिद्धिको शिखरमा पुग्नु भएका तत्कालिन नेकपा एमालेका महासचिव जननेता स्वर्गीय मदन भण्डारीको नाममा स्थापना भएको विशुद्ध सामाजिक संस्था हो। यस संस्थाले एकातर्फ मदनले प्रतिपादन गर्नुभएको नवीन विचार ‘जनताको बहुदलीय जनवाद’ को दार्शनिक, सैद्धान्तिक, र वैचारिक अवधारणाहरुमाथि बहस, छलफल, अनुसन्धान र प्रसार गर्ने कार्य गर्दछ भने अर्कोतर्फ समाजका विकृति विसंगती, सामाजिक, सांस्कृतिक विभेद र कुरितिका विरुद्ध विभिन्न अभियानहरू सञ्चालन गर्ने र आर्थिक सामाजिक रुपान्तरणको लागि विकास निर्माणको परियोजनाहरू समेत सञ्चालन गर्दै आएको छ।’
फाउण्डेशनले विकास निर्माणका काममा समेत सहजीकरण गरेको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘मदन भण्डारीको जीप दुघर्टना भएको स्थल दासढुंगामा गुरुयोजनासहित मदन भण्डारी पार्क, स्मारक, मदन भण्डारी अध्ययन प्रतिष्ठान निर्माण गर्ने र शव प्राप्त भएको स्थान गाजीपुरमा तटबन्धसहित स्मारक र स्तम्भ निर्माण गर्नेलगायतका विभिन्न कार्ययोजना सहित स्थानीय, प्रदेश र संघीय सरकारहरूसँग आवश्यक पहल र स्राेत व्यवस्थापन गर्दै निरन्तर कार्य अगाडि बढ्दै गरेको समेत सहर्ष जानकारी गराउँदछौ।’ संस्था आफ्ना लक्ष्य प्राप्तिका लागि निरन्तर अघि बढिरहेको उल्लेख गर्दै संस्थाप्रति आक्षेप र लान्छना लगाई विगत केही समयदेखि भइरहेको भ्रमपूर्ण प्रचार र दोषारोपणप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ ‘संस्थामाथि लगाइएका यस्ता लान्छनाहरु खारेज गर्दै भ्रामक प्रचारप्रति खेद व्यक्त गर्दछौं।’


























