काठमाडौं, मंसिर १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौला पन्तले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेकी छन्। उनले गत वैशाख २६ गतेदेखि सुरु भएको संसदको वर्षे अधिवेशन २ महिना नपुग्दै बन्द रहेको भन्दै संसद सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारको आपसी अन्तरकलह, किचलो र बैमनस्यताले गत बैशाख २६ गते प्रारम्भ भएको संसदको बर्से अधिबेशन २ महिना नपुग्दै १८ असारमा संसदको अन्त्य गर्दै सरकारले लोकतान्त्रिक प्रक्रियालाई कुल्चिएको बताएकी छन्।
‘सरकार स्वच्छचारी रुपले जनताप्रति जबाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिइ निरंकुशताको बाटोमा अग्रसर हुन पुग्यो। कोरोना भाइरसको महामारीले शृजित समस्या, कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरुले संसदमा बुलन्द गरि घच्घच्याइ सचेत गराउने कार्यलाई प्रतिबन्ध गरि नागरिकता देखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण बिधेयकहरुलाइ थाती राख्न बाध्य पारियो’, उनले भनिन्।
त्यस्तै सांसद संग्रौलाले सरकराले संसदलाई छल्दै भटाभट अद्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पुर्याइएको हुँदा अबिलम्ब संसद अधिबेशन आह्वान गर्न आनाकानी नगर्न सरकारसँग आग्रह गरेकी छन्।
‘संसदलाई छल्दै भटाभट अद्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पुर्याइएको हुँदा अबिलम्ब संसद अधिबेशन आह्वान गरि जनताको आवाजलाई मुखरित गरियोस्। निरंकुशताको शैलीले हैन की संविधान र लोकतान्त्रिक पद्धतिको मान्यतामा दृढ भै संसदबाट कुनैपनि समस्याको हल खोजियोस। संसद अधिबेशन बोलाउन आनाकानी नगरियोस्’, उनले भनिन्।
सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सुरक्षाका साथ अधिवेशन बोलाउने बताएको छ। सभामुख अग्नी सापकोटाले एक महिनाभित्र संसद बैठक बोलाउने बताएका छन्।