काठमाडौँ, कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन्। बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने ओलीले त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्नेछन्। प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।
ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको छ। यस्तै उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नेछन्।
झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यको भनाइ छ।
ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ।
यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको संखुवासभाका सांसद राजेन्द्र गौतमले बताएका छन्। ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन्।


























