काठमाडौं, असोज १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाममा सरकार पूर्ण रुपमा उदासीन रहेको आरोप लगाएको छ। कांग्रेसले पीसीआर परीक्षणबाट संक्रमित देखिएका व्यक्तिहरुका लागि उचित आइसोलेसनको व्यवस्था नगरेर सरकारले संक्रमण रोकथाममा उदासीनता देखाएको आरोप लगाएको हो। पार्टीले संक्रमण भएर घरमा बस्ने अवस्था नभएकाका लागि आइसोलेसनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस सहमहामन्त्री एवम् कोभिड—१९ अनुगमन समितिका संयोजक डा। प्रकाशशरण महतले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्न समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको बिचल्ली भएको छ।’ यस्ता संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको कांग्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा उल्लेख छ, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ।’
यस कारण संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नुपर्ने परिस्थिति रहेको कांग्रेस विज्ञप्तिमा उल्लेख छ। संक्रमण बढ्ने खतराप्रति सरकार पूरै उदासीन रहेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसले कोभिड–१९ को लक्षण देखिएका संक्रमितको अस्पतालमा उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।


























