काठमाडौं, असोज १२ । नेपाली कांग्रेसमा आन्तरिक किचलो बढेर गएको छ। १४औं महाधिवेशनको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागहरू भकाभक गठन गरेपछि रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ।
आफूहरूको विमति रहँदा रहँदै पनि विभाग गठन गरेको र पार्टी विधान मिचेको आरोप लगाउँदै पौडेल पक्षले आज सभापतिविरुद्ध पार्टी कार्यालयमा विरोध प्रस्ताव दर्ता गर्दैछ। दिउँसो साढे १ बजे केन्द्रीय सदस्यद्वय नविन्द्रराज जोशी र दीपक गिरीले विरोध प्रस्ताव दर्ता गराउन लागेका हुन्।
पौडेल पक्षले सभापतिको विरोधमा कृष्णप्रसाद सिटौला पक्षलाई पनि विरोध प्रस्तावमा हस्ताक्षर गर्न आग्रह गरेको थियो। पौडेल र सिटौलाबीच आइतबार भेटवार्ता पनि भएको थियो। तर, सिटौलाले आफ्नो पक्षले हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ।
सिटौला पक्षले हस्ताक्षर गर्न नमानेपछि पौडेल पक्ष एक्लिएको छ। यसअघि हरेक कदममा सिटौलाले पौडेललाई साथ दिँदै आएका थिए। १४औं महाधिवेशनमा सिटौला र देउवा पक्षबीच सहकार्य हुने सम्भावना पनि बढेको छ।


























