चितवन २२ पुस । नारायणी नदी किनारमा हुन लागेको चितवन महोत्सवको १३औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था चितवन उद्योग वाणिज्य संघले जनाएको छ। यही पुस २५ गतेदेखि सञ्चालन हुने महोत्सवको तयारी ९५ प्रतिशत सकिएको महोत्सव मूल आयोजक समितिका संयोकज एवम् संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।
महोत्सव स्थलमा स्टल, मूल गेट, सचिवालय निर्माणलगायतका काम पनि अन्तिम चरणमा पुगेको संयोजक श्रेष्ठले जानकारी दिए। विस २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोना भाइरस संक्रमण जोखिमका कारण एक वर्ष पछाडि धकेलिएको हो। महोत्सव अवधिभर स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरिनेछ। महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिने र महोत्सव अवलोकन गर्न आउने सबैलाई अनिवार्य प्रयोग गर्न लगाउने उनले बताए।
यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टाछुट्टै परिसर रहने छ। महोत्सव परिसरमा २० वटा रेष्टुरेन्ट रहने महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिए। विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि यसपटक मह प्रवर्द्वन गर्ने गरी मौरीको ‘डमी महोत्सव’समेत राखिने तयारी भइरहेको उनले बताए।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका परिसर पनि रहने छन्। नेपालमा उत्पादन भएका सामग्रीहरूलाई प्राथमिकताका साथ राखेर तिनीहरूको प्रवर्द्वन र विकासमा १३औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको श्रेष्ठले बताए। महोत्सवमा चारवटा विशेष र डोमसहित ३५० स्टल रहनेछन्। सबै स्टलको बीमा गरिनेछ। लक्ष्यअनुसार सबै स्टल बुकिङ भइसकेको महोत्सव मूल आयोजक समितिले जनाएको छ।
महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवर्द्वनका गतिविधि सञ्चालन हुनेछन्। दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिका भेषभूषा तथा कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषि उपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ।
महोत्सव अवलोकन गर्न सर्वसाधारणले रू ५० र विद्यार्थीले रू २५ को टिकट लिनुपर्नेछ। ज्येष्ठ नागरिक, एकल महिला, सहिद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

छ विधामा गोष्ठी
महोत्सव अवधिभर विभिन्न छ वटा विधामा गोष्ठी तथा अन्तरक्रिया हुने चितवन महोत्सवका गोष्ठी संयोजक राजेन्द्र ओलीले जानकारी दिए। पुस २७ गते कृषि, २८ गते उर्जा, २९ गते पोल्ट्री, ३० गते पर्यटन, माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र ३ गते महिला उद्यमी सम्बन्धी गोष्ठी हुने उनले बताए।
उनका अनुसार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहान ११ बजेदेखि गोष्ठी सुरू हुनेछ। गोष्ठीका क्रममा विषय विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल र अन्तरक्रिया हुनेछ।
महोत्सव प्रचारप्रसार समिति संयोजक सुमन श्रेष्ठले महोत्सवको उद्घाटन पुस २५ गते पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताए। महोत्सवको समापन गर्न भने माघ ४ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे आउने कार्यक्रम तय भएको उनले बताए।


























