काठमाडौं, असोज १२ । मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल भएको छ। सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन्।
यसअघि बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि ठोस सहमति जुट्न सकेको थिएन। खासगरी मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो।
मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन्। त्यस्तै समीकरण मिलाउन ओली र प्रचण्डबीच तीन वटा मन्त्रालय समेत टुक्र्याउने बारेमा समेत कुराकानी भइरहेको बुझिएको छ।
भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको स्रोतहरुको भनाइ छ।
तर नेकपाभित्रै मन्त्रालय फुटाउन नहुने आवाज पनि उठ्दै आएको छ। एक स्थायी समिति सदस्य भन्छन्, ‘विगतमा मन्त्रालय फटाउने र धेरै मन्त्रीहरु बनाउने काम भयो। त्यसले विकृति र विसंगति ल्यायो। त्यो बुझेर नै हामीले संविधान २५ जना भन्दा बढि मन्त्री बनाउन नमिल्ने बनायौ।’
उनले भागवण्डा मिलाउनकै लागि मन्त्रालय संख्या बढाउने निर्णय संवैधानिक मर्म र जनभावना विपरीत हुने भन्दै त्यसको राम्रो संकेत नजाने दावी गरे। हाल २१ वटा मन्त्रालय छन्। यदि चर्चामा आएजस्तै तीन वटा मन्त्रालय फुटाउने हो भने २४ वटा हुनेछन्।


























