चितवन, भदाै १२ । क्यान महासंघ जिल्ला शाखा चितवनले एकदिने ‘डिजिटल लनिङ इन एजुकेशन नामक’ नामक वेवीनार सम्पन्न गरेकाे छ। गत माघदेखि विश्वब्यापीरुपमा देखापरेकाे काेभिड-१९ महामारीको कारणले घरमै बस्नुपरेकाे अवस्थामा संस्थाकाे सामाजिक कार्यअन्तर्गत सम्पूर्ण विद्यार्थीहरुमाझ नविनतम प्रविधि प्रयाेग गरी विद्यार्थीसँग विद्यालयलाई जाेड्ने प्रयास गरिएकाे क्यान महासंघले जनाएकाे छ। आसन्न परिस्थितिमा विविध चुनाैती र अवसरका रुपमा कसरी जुध्न सकिन्छ, जनस्तरमा सूचना प्रविधिकाे पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आधारित रहेर कार्यक्रम गरिएकाे कम्प्युटर एसाेसीएसन नेपाल महासंघ चितवनका अध्यक्ष सन्ताेषजनक भुसालले जानकारी दिए।
कार्यक्रममा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, क्यान महाशंघका उपाध्यक्ष खुसल रेग्मी र वाग्मती प्रदेशका शिक्षा स्वास्थ्य तथा कृषि समितिका संयाेजक घनश्याम दाहालसहित क्यान महासंघका पदाधिकारीहरु, क्यान वाग्मती प्रदेशका पदाधिकारीहरु, क्यान जिल्ला समिति चितवनका पदाधिकारी र जिल्ला सदस्यहरु, प्याबसन/सामुदायिक कलेज तथा संचालक समितिका अध्यक्षहरु, प्राध्यापकहरु, शिक्षक/शिक्षीकाहरुलगायत विभिन्न निकायका प्रवुद्ध एवम् प्रविधि क्षेत्रमा आवद्ध प्रविधिप्रेमीहरुले सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा ५०० जनाले सहभागीता जनाएका क्यान जिल्ला शाखा चितवनका सचिव टेकलाल भुसालले दिए।
कार्यक्रममा स्राेत व्यक्तिकाे रुपमा रेगबहादुर भण्डारी, पदमराज पन्त र कृष्ण पाेखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रम उठेका प्रश्न र विषयबस्तुलाई क्यान चितवनका निवर्तमान अध्यक्ष भानु शर्माले प्रष्ट पारेका थिए। यस्तै प्याब्सन चितवनका अध्यक्ष टिकाराम चापागाईं, सामुदायिक विद्यालयकाे प्रतिनिधित्व गर्दै पूर्णप्रसाद दवाडी र शिक्षकहरुकाे प्रतिनिधित्व गर्दै हरिश्चन्द्र सुवेदीले आफ्ना धारणा राखेका थिए।
इन्टरनेटकाे पहुँच नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने र डाटा प्याकेजबारे पनि छलफल भएकाे थियाे। आगामी दिनमा पनि याे कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्यान महासंघ चितवनका उपाध्यक्ष दिलीप तामाङले जानकारी दिए।