चितवन, माघ २० । चितवनको रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोगार्थ शुरू भएको धनधान्यचल महोत्सवबाट ५० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ।
आइतबार शुरू भएको महोत्सवको उद्घाटन हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) र राष्ट्रिय खेलाडीहरुले गरेका थिए।
रंगशाला निर्माणको कामले थप तिब्रता पाइरहेको अवस्थामा धनधान्याचल महोत्सव हुनु खुसीको कुरा भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए। उनले जनस्तरबाट बन्ने रंगशालालाई दिल खोलेर सकेको सहयोग गर्न पनि सवैसँग आग्रह गरे।
महोत्सव सम्पन्न गराउन प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। ५९ वटा विभिन्न उपसमितिहरु र २८३ सदस्यीय सचिवालय गठन गरिएको छ।
चितवनका सबै ७ स्थानीय तह र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाअध्यक्षको नेतृत्वमा वडास्तरीय समिति गठन गरिएको छ।
संयोजक सुवेदीले हरेक टोल विकास संस्थाका अध्यक्षहरुमार्फत हरेक घर र व्यक्तिसम्म पुगेर प्रचारप्रसार र सहयोगका लागी अपिल पनि गरिएको बताए। ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्लालाई अनुरोध रंगशाला निर्माणमा सहयोग गर्न देशभरका ७५३ स्थानीय तह ७७ वटै जिल्लालाई अनुरोध पठाईएको छ।
जिल्लाका विभिन्न ९ वटा राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राजपा, समाजवादी दल, जनमोर्चा, राप्रपा, राप्रपा संयुक्त, नेकपा माले र साझा पार्टीले महोत्सव सम्पन्न गराउन एकवद्धता जनाएका छन्।नेकपा र कांग्रेसले महोत्सव अवधिभर जिल्लामा कुनै पनि कार्यक्रम नगर्ने जनाइसकेको छ।
चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणधीन अवस्थाको रंगशाला ३० हजार क्षमताको रहनेछ। ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको रंगशाला निर्माणका लागी देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ।


























