चितवन । भरतपुर महानगरपालिकाले विद्यालयहरूमा सूचना प्रविधि (आइटी) ल्याव स्थापनार्थ खुलाएको दरभाउपत्रमाथि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सूचना प्रविधिसम्बन्धी केही सामग्रीको विशिष्टता नै नभएको, नविनतम प्रविधिमैत्री नभएको र नेपालको विद्यमान खरिद नियमावली कानुनअनुरूप नभएको भन्दै सोमबार क्यान महासंघ चितवनको टोलीले भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा ध्यानाकर्षणपत्र समेत बुझाएको छ।
एउटा मात्रै कम्पनी सहभागी हुन पाउने गरी नीति नियम बनाएको भन्दै क्यान महासंघले त्यसबाट विद्यार्थीको सिकाइ र वर्तमान नयाँ प्रविधिसँग तालमेल नै नहुने जनाएको छ। कानुनीरूपमा समेत अनाधिकृत तरिकाले एउटा मात्रै कम्पनी सहभागी हुन पाउने व्यवस्था खारेज हुनुपर्ने क्यान महासंघ चितवनका अध्यक्ष सन्तोषजनक भूसालले बताए।
महानगरपालिकाले आफूअनुकूल हुने गरी दरभाउपत्र आह्वान गर्दा त्यसबाट विद्यालय तथा विद्यार्थीभन्दा पनि निजी स्वार्थ हावी भएको हुनसक्ने आशंकासमेत व्यक्त गरेको छ। स्थानीय तहले आफूअनुकूल नीति बनाएर एकलौटी गर्दै नीतिगत भ्रष्टाचार गर्न खोजेको सचिव टेकलाल भूसालले आरोप लगाए। सोमबार ध्यानाकर्षणपत्र बुझाउन संस्थाका उपाध्यक्ष दिलीप तामाङ, निवर्तमान अध्यक्ष भानु शर्मालगायतको टोली उपस्थित थिए।