चितवन । चितवन महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि इ-टिकट खुला गरिएको छ। यही पुस २५ गते सोमबारबाट सुरु हुने चितवन महोत्सवमा लाइन बसेर टिकट लिनुपर्ने बाध्यता हटाउँदै घरबाटै टिकट लिन सकिने व्यवस्था मिलाएको हो।
महोत्सवलाई थप सूचना प्रविधिमैत्री बनाउदै विशेषत युवा-विधार्थी वर्गलाई लक्षित गरी यसपटक इ-टिकाटको व्यवस्था मिलाइएको उद्योग बाणिज्य संघ चितवनका सूचना प्रविधि संयोजक सन्तोषजनक भुसालले जानकारी दिए। “प्ले स्टोरमा गएर CCIC Chitwan एप डाउनलोड गरिसकेपछि इ-सेवामार्फत भुक्तानी गरी इ-टिकट लिन सकिन्छ,” उनले भने। कम्युटर एसोसिएसन नेपाल चितवनको प्राविधिक सहयोगमा गर्न लागिएको इ-टिकाटिङ्गको व्यवस्था देशभरका उद्योग बाणिज्य संघले आयोजना गर्ने मेला-महोत्सवहरुमध्ये सम्भवतः यो नै पहिलो पटक हो।
यसबाट चितवनमा सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थपिने कम्प्युटर एसोसियसन चितवनका अध्यक्ष टेकलाल भुसालले बताए। यसपटक टिकटको भिडभाड कम गर्न महोत्सव परिसरमा ठाउँठाउँमा इ-टिकटका लागि QR कोड राख्ने तथा इ-टिकट काट्नेका लागि सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। यसपटक महोत्सवमा सर्वसाधारणका लागि ६० तथा विधार्थीको लागि ३० रुपयाँ टिकटदर कायम गरिएको छ।