काठमाडौं, साउन १२ । मन्त्रीपरिषद्को बैठक सोमबार बस्दै छ। सोमबार बस्ने मनित्रपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्त गर्ने छ। राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन्।
सरकारले रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगर मध्ये एक जनालाई सदस्यसचिवमा नियुक्त गर्ने छ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले केही दिनअघि दरखास्त परेका २५ जना मध्ये सिलवाल, श्रेष्ठ र मगरलाई राखेपको सदस्यसचिवका लागि सिफारिस गरेको थियो।
उक्त सिफारिस समितिले अनिवार्य रुपमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ। नेपाल खेलकुद विकास ऐन लागु भइसकेपछि ऐनमा रहेको व्यवस्था बमोजिम नियुक्ती प्रक्रिया अगाडि बढेको हो।
तीनजना मध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन्। प्रधानमन्त्री केपी ओली निकट उनी फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ।
यस्तै सोमबारै बस्ने मन्त्रिपरिषद् बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने छ।
गृहमन्त्रालयको सिफारिस अनुसार डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुने छ। दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन्।


























