साउन १२ । युभेन्ट्सले सिरि ए फुटबलको उपाधि उचालेको छ। आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचालेको हो।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे।
पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए। ६७ औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।
खेल सकिन एक मिनेट अघि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो। तर रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहे।
युभेन्ट्सलाई लिग उपाधि जित्न तीन अंक आवश्यक थियो। तर पछिल्ला ५ खेलमा युभेन्ट्सले मात्र एक खेलमा जित निकाल्न सफल रह्यो।
अबरुद्ध लिग पुन सुरु भएपछि रोनाल्डोले युभेन्ट्सका लागि १० गोल गर्न सफल रहे। अन्तिम मिनेटमा पेनाल्टी खेर फालेका रोनाल्डोले क्लबको कीर्तिमान बराबरी गर्न असफल रहे।
मौरिजियो सर्री नेतृत्वको युभेन्ट्सले दुई खेल अगावै लिग उपाधि आफ्नो पक्षमा पारेको हो। उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ७ अंकको अग्रता समेत बनाएको छ।
च्याम्पियन युभेन्ट्सको ८३ अंक छ। दोस्रो स्थानको ईन्टरको ७६ अंक छ। साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ।


























