काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन्। केन्द्रीय सदस्य विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाहलगायतले संयुक्त राजिनामा दिएका हुन्।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको संयुक्त राजीनामा पत्रमा उल्लेख गरेका छन्। ‘नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल बिचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ,’ राजीनामा पत्रमा भनिएको छ।


























