चितवन । पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह माथि शनिवार नारायणगढमा विमर्श गरिएको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले कृतिमाथि समीक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौनजन्य विकृतिबारे उजागर गरेको बताएका छन्। महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित कथासंग्रह सामाजिक यथार्थवादीमा केन्द्रित रेहेको वक्ताहरुले औंल्याए।
चितवन साहित्य परिषदका पूर्वअध्यक्ष गायत्री श्रेष्ठले कुमाता कथासंग्रह भित्र रहेका कथाहरुको भाषा सरलता, नारी संवेदनशिलताका पक्षमा जोडका साथ उठेको बताइन्। महिला अधिकारकर्मी मीना खरेलले पछिल्लो समय समाजमा देखिएका विकृति तथा विसंगतिलाई कथाका रुपमा बाहिर ल्याउन पत्रकार पराजुली सफल भएको बताइन्।
चितवन साहित्य परिषदका अध्यक्ष शुरेन्द्र अस्तफलले कथामा समावेश भएका आन्चलिकताले कथा मार्मिक र सुन्दर बनेको बताए। समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिए। पत्रकारिता र साहित्य फरक पाटो भएको बताउँदै उनले भने, ‘यो कथासंग्रहमा साहित्य कम र पत्रकारिता बढी हाबी भएको देखियो।’ समीक्षक एवम् प्राध्यापक शान्ति शर्मा, प्राध्यापक कपिलल अज्ञातलगायतले कथाभित्र नाटकीय तत्व थप्नुपर्नेमा जोड दिए।
रामेश्वर पुस्तकालय तथा वाचनालयका अध्यक्ष बालकृष्ण थपलियाले भने पछिल्लो समय पत्रकारहरू पनि साहित्य क्षेत्रमा फड्को मार्दै नेपाली साहित्यको श्रृवृद्धिमा लागेर साहित्य क्षेत्र फराकिलो बन्दै गएको बताए।
लेखक पराजुलीले भने कुमाता कुनै पनि कथाका सिद्धान्त, मान्यता र दर्शनलाई नपच्छ्याएकाले मौलिक बनेको जिकिर गरे। पहिलो साहित्यिक कृतिमा भएका कमीकमजोरीलाई आगामी कृतिमा सँच्याउँदै लैजाने प्रतिवद्धता जनाए। भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको ‘कुमाता’मा संग्रहमा फरक–फरक विषयवस्तु केन्द्रित कथा समावेश छन्।


























