काठमाडौं, साउन ६ । आज नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि) को ३८ औं स्मृति दिवस मनाइँदैछ।
बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन्। विभिन्न जिल्लामा पनि काँग्रेस तथा यसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी बीपिलाई सम्झदैछन्।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ। कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री भई नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए।
उनको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ। कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो।


























