काठमाडौं, माघ ७ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलसंगै महिला लिग सुरु हुनेछ।
आर्मी र पुलिसबीचको उद्घाटन खेल अपरान्ह २ बजे सुरु हुनेछ। पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निशुल्क प्रवेशको सुविधा दिएको छ। उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन्। पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ।
तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन् लागेको हो। यस अघिको संस्करणमा हप्दा दिनमा सकिने महिला लिगले पहिलो पटक राउण्ड रोविनको आधारमा हुनेछ। यस अघि पहिलो चरण सशस्त्र प्रहरी बलको हल्चोक मैदान र रौतहटमा दोस्रो चरणका खेल भएको थियो। जसबाट सेमिफाइनलमा पुग्ने चार टोली फाइलन चरणका लागि छनोट भएका थिए।
फाइनल चरणका खेल विराटनगरमा गर्ने तयारी हुँदै गर्दा कोरोना भाईरसका कारण प्रतियोगिता सरेको थियो। पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलता पूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न भने पाएन।
यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन्। प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ। यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन्।


























