चितवन । सत्तारुढ दल निकट बाहेकका दलित अगुवाहरुले नवराज विक हत्या काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै छुट्टै आन्दोलन गर्ने भएका छन्। दबाबमुलक आन्दोलनमा सरकार समर्थित जातीय मुक्ति समाज र नेपाल दलित मुक्ति मोर्चाको नेतृत्व पक्षबाट आस्था र विश्वासको आधारमा रुकुम घटनालगायतका आन्दोलनमा कमजोर भूमिका निर्वाह गरेको भन्दै त्यसबाट आठ वटा संस्था अलग भएका हुन्।
पीडितलाई न्याय दिलाउन सत्तारुढ पक्षका दलित अगुवा सरकारको विरुद्धमा सशक्त रुपमा नलागेपछि नेकपा बाहेकका दलित संघ संगठन र संस्थाले छुट्टै आन्दोलनको घोषणा गरेका हुन्। पीडितका पक्षमा आवाज बुलन्द पार्न सक्रिय नभएपछि छुट्टै आन्दोलन गर्ने निर्णय भएको नेपाली कांग्रेस निकट नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियारले जानकारी दिइन्। पीडितले न्याय नपाउञ्जेलसम्म विभिन्न राजनैतिक पार्टी सम्बद्ध दलित संगठन, नागरिक समाज, स्वतन्त्र संघ संस्था सम्मिलित संयुक्त राजनैतिक दलित संघर्ष समिति गठन गरी संयुक्त रुपमा संघर्ष गर्ने निर्णय भएको उनले बताइन्।
जनता समाजवादी पार्टी निकटको समाजवादी दलित मुक्ति महासंघ अध्यक्ष तुलाराम विश्वकर्मा, (नेकपा क्रान्तिकारी माओवादी) निकटको नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष रामचन्द्र विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक दलित संगठनका अध्यक्ष मिना विश्वकर्मा, वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टी नेपाल निकटका रुपलाल विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष अम्मर विश्वकर्मा, जात व्यवस्था उन्मुलन मोर्चा नेपालका अध्यक्ष पुरण रपाल, हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मा र परियार सेवा समितिका सचिव लालबहादुर परियारले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गरेर आन्दोलन गर्ने जानकारी गराएका हुन्।



























