हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ। मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो। मन्त्रीहरुको जवाफपछि नेकपा बाहेक सबै दलहरुले बजेटमा असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो। बजेटमा नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्र बजेटको विपक्षमा थिए।
बागमती प्रदेशले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेशले अघिल्लो ०७६/०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो। गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। ०७७/०७८ मा प्रदेश सरकारले चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात् कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ।
सबैको समन्वयमा काम गर्ने प्रदेश सरकारकाे दाबी
बजेटको छलफलमा उठेको जवाफ दिँदै प्रदेश सरकारले सबै राजनीतिक दल र सरकारसँग समन्वय गरेर काम गर्ने बताएको छ। जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाैडेलले संघ, प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने बताएका हुन्।
उनले २ बर्षभित्र प्रदेशभरका १७९ किलाेमिटर सडक ढलान तथा कालोपत्रे गर्ने काम भएको बताए। यस्तै ३३ पुल निर्माण, ८०७ किलाेमिटर सडक निर्माण र ३२० किलोमिटर सडक ग्राभेल भएको बताए। कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमितलाई उपचार गर्न औजार तथा उपकरण खरिद, आइसोलेसन, क्वारेन्टाइन, पिसिआरलगायतका कामका लागि अहिलेकाे कार्यक्रम प्राथमिकतामा परेकाे उनकाे भनाइ छ। ६६ वटै निर्माण क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनको भनाइ छ। कोरोनाका कारण अधुरा योजनाको अवस्था हेरी म्याद थप गर्न संघीय सरकारसंग समन्वय गर्ने उनले बताए।


























