चितवन । भारततको हरिद्वारबाट आएका नवलपुरका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। देवचुली १ नवलपुरका १९ वर्षिय ती युवक जेठ १० गते भारतको हरिद्वारबाट नेपाल आएका थिए। संक्रमण पुष्टि भएपछि उनलाई भरतपुरकै कोरोना अस्थायी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ। अहिले चितवनमा तीन जिल्लाका कोरोना संक्रमितको उपचार भइरहेको भरतपुर अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनका तीन, नवलपुरका तीन र मकवानपुरका एक गरी सात जना संक्रमितकाे उपचार भरतपुरमा भइरहेको छ। चितवनमा परीक्षण गरेकामध्ये हालसम्म आठ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जसमा दुईजना यसअघि नै निकाे भएर घर गइसकेका छन्।
अस्पतालमा संक्रमित ९ जनाकाे उपचार भए पनि मकवानपुरकी महिलामा भने हेटौँडामा गरेको परीक्षणमा कोरोना देखिएपछि भरतपुर ल्याइएको हो। उनी भरतपुर १२ मा डेरा गरी बस्दै आएकी थिइन्। ती महिलाको श्रीमानलाई पनि आइसोलेसनमा राखिएको भरतपुर अस्पतालले जनाएको छ। श्रीमतीमा संक्रमण देखिएकोले श्रीमानको पनि नमुना संकलन गरेर परीक्षणको तयारी भइरहेको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए।


























