काठमाडौँ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बार्ता सकारात्मक निष्कर्षमा पुगेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको संकट तत्कालका लागि टरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुवै अध्यक्षले पछिल्ला घटनाक्रमबारे खुलस्त छलफल गरेपछि वातावरण सकारात्मक बन्दै गएको बताइएको छ। करिब ४ घण्टासम्म भएको छलफलमा पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी थिए।
स्रोतका अनुसार दुई अध्यक्षबीच भएको छलफलमा पुराना केही सहमति कार्यान्वयन गर्दै केही नयाँ लिखित सहमति हुने भएको छ। पुरानामध्ये मङ्सिर ४ मा भएका सहमतिलाई कार्यान्वयन गर्ने प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार दिने र पार्टी सञ्चालनमा दखल नगर्ने भनिएको छ। सोही सहमतिअनुसार प्रधानमन्त्री ओलीले पूरै कार्यकाल सरकार चलाउने, तर पार्टीको म्यान्डेट बाहिर जान नपाइने, सरकार सञ्चालनका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने कार्यदलमा पार्टीका शीर्ष नेताहरू वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेता रहने बुझिएको छ।
नयाँ सहमति अनुसार केही मन्त्रीहरू (कार्यदक्षताका आधारमा) परिवर्तन गर्ने, केही मुख्यमन्त्रीहरू परिवर्तन गर्ने, पार्टीका मुख्य पाँच नेताहरूले कार्यदल बनाएर सरकार सञ्चालनमा सहजीकरण गर्ने, कार्यदलले दिएको सुझाव अनुसार प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने र केही नयाँ सहमति शनिबार बिहान गर्ने गरी शुक्रबारको बैठक सकिएको स्रोतले जनाएको छ। शनिबार बिहान स्थायी कमिटिको बैठक अगाडी सहमतिहरू टुंग्याउने छलफल भएको बताइएको छ।
पछिल्लो घटनाक्रमले पार्टी विभाजनतिर जाने संकेत देखिएपछि दबाबस्वरूप पार्टीका युवा नेताहरूले कार्यालयमा धर्ना दिनेदेखि सामुहिक छलफल गर्नेलगायतका कार्यक्रम गर्दै आएका थिए। शुक्रबार पनि देशभरका विभिन्न जिल्लाहरुमा ओलीको समर्थनमा प्रदर्शन गरेका थिए। लामो समयदेखि नेकपामा देखिएको तिक्तता आइतबार प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा दिएको विवादित भाषणले उत्कर्षमा पुगेको थियो। जारी नेकपाभित्रको आन्तरिक विवाद स्थायी समिति बैठकमा थप उत्कर्षमा पुगेको थियो। बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुनुका साथै उनको राजीनामा समेत मागिएको थियो।


























