भदौ १३ । मेस्सीले बार्सिलोनाबाट सहज र सौहार्दपूर्ण बहिर्गमन चाहेका छन्। उनले बार्सिलोनासंग छलफल गरेर सहज रुपमा निस्कन चाहेको बताएका छन्।
उनले आफ्ना एजेन्टलाई बार्सिलोनासंग बैठक राख्न अनुरोध गरेका छन्। उनले क्लबसंग कानुनी लडाँई लड्न नचाहेको उल्लेख गर्दै छलफलबाटै सम्भावित विवाद टुङ्गयाउन खोजेका छन्।
मेस्सीले आफ्ना प्रतिनिधिलाई बार्सिलोनाको बोर्डसंग बैठकको व्यवस्था गर्न अनुरोध गरेका छन्। उनले बोर्डसंग छलफल गरेर आफ्नो भविष्यको बिषयमा निर्णय गर्न चाहन्छन्।
मेस्सीले फ्याक्स मार्फत बार्सिलोनालाई पत्र लेख्दै क्लब छाड्ने निर्णय सुनाएका थिए। उनले आफ्ना वहिर्गमनको मार्ग प्रसस्त गरिदिन क्लबलाई अनुरोध गरेका थिए। मेस्सीको पत्रपछि दुवै पक्ष पुन छलफल गरेर समस्याको समाधान खोज्ने अवस्था सिर्जना भएको छ।
मेस्सी तत्काल क्लबको बोर्डसंग बैठक बसेर छलफलबाटै समस्याको समाधान गर्न चाहन्छन्। उनी क्लबका अध्यक्ष जोसेप बर्टोमेउसंग विवाद बढाउने र उनलाई राजीनामा गराउने पक्षमा छैनन्।
विकसित पछिल्लो कदमको सम्पूर्ण दोष आफुमा आउने र तत्कालका सबै विवादको केन्द्रको रुपमा आफुलाई चित्रित गरिने बिषयमा मेस्सी जानकार छन्।
बैठक भर्चुअल वा भौतिक रुपमा बस्ने टुङ्गो लागेको छैन। तर मेस्सीका बुवा जोर्गी अर्जेन्टिनाबाट बार्सिलोनाका लागि हिडेका छन्। मेस्सी बैठक अघि सार्वजनीक रुपमा केही बोल्न चाहदैनन्।
अर्जेन्टिनी फरवार्डको भविष्य मेस्सी स्वयम, बार्सिलोना र म्यान्चेष्टर सिटीबीचको छलफलबाट हल हुने देखिएको छ।
बार्सिलोनाले समय घर्किसकेको उल्लेख गर्दै मेस्सी फ्रि ट्रान्सफरमा उपलब्ध नहुने दाबी गर्दै आएको छ। मेस्सी भने कोरोनाका कारण सिजन लम्बिएको कारण आफु निशुल्क अन्य क्लबमा जान पाउनुपर्ने बताउने गरेका छन्।
म्यान्चेष्टर सिटीले फिफाको अन्तराष्ट्रिय हस्तान्तरण पत्र प्राप्त नहुन्जेल मेस्सीसंग निर्णायक छलफल गर्न चाहेका छैन। मेस्सी र बार्सिलोनाबीच छलफल टुङ्गोमा पुगेपछि मात्र सिटी मेस्सी अनुबन्धनमा अघि बढ्न चाहन्छ।
बार्सिलोनामा २० बर्ष सेवा गरेका कारण मेस्सी आफ्नो शर्तका आधारमा बाहिर जान पाउनुपर्ने बताउँदै आएका छन्। किनकी गत जुनको सुरुवातमा उनलाई शर्त सहितको अधिकारको प्रयोग गर्ने अनुमती प्रदान गरिएको थियो। एजेन्सी


























