काठमाडौं, जेष्ठ २१ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गर्ने भएका छन्।
छलफलका लागि प्रधानमन्त्रीले आज ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
थापाका अनुसार विभिन्न क्षेत्रका २५ जनालाई परामर्शका लागि बालुवाटार बोलाइको छ। प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समीक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा विश्लेषणसहित छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटर स्रोतले जनाएको छ।
चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ। यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो।
यसअघि कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिले बिभिन्न व्यापारी व्यवसायीसँग मंगलबार छलफल गरेको थियो। छलफलमा सहभागी उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउनुपर्ने र उद्योग सञ्चालन गर्न दिनुपर्ने माग राखेका थिए।
सरकारले ३२ जेठसम्म लकडाउन घोषणा गरिसकेको छ।


























