काठमाडौं, चैत्र २ । टेक कम्पनी एप्पलले आफ्ना विश्वभरका स्टोरहरु बन्द गरेको छ। शनिबार कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन्।
अमेरिकी टेक कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रकार मात्र खुला गरेको थियो। तर अब भने कम्पनीले चीनभन्दा बाहिरका सम्पूर्ण स्टोरहरु बन्द गर्ने निर्णय गरेको हो।
एप्पलका विश्वभरका स्टोरहरु आगामी मार्च २७ तारिखसम्म बन्द रहने कुकले जानकारी दिएका छन्। यसका साथै कम्पनीले विश्वभर कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रणमा सहयोग गर्न १५ मिलियन अमेरिकी डलर दिने प्रतिबद्दता जनाएको छ।
कम्पनीका चीनमा भएका स्टोरहरु यसअघि करिब २ महिनासम्म बन्द भएका थिए। जहाँ कोरोनाभाइरसको ब्यापक प्रकोप देखिएको थियो भने हाल सो नियन्त्रणमा आईसकेको बताईएको छ।
विश्वभर कोरोनाभाइरसको महामारीले उच्च जोखिम निम्त्याएपछि एप्पलले यस्तो निर्णय गरेको हो। आफ्ना स्टोरहरु बन्द गरेपनि एप्पल वेबसाइटबाट सामान किन्न सक्ने वा अन्य अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था पनि गरिएको एप्पलले जनाएको छ।


























