काठमाडौँ, २९ साउन। सरकारले दूधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ। कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको हो।
बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदललाई दूधको नयाँ मूल्य सिफारिस गर्ने विषयमा विभिन्न नौ कार्यदेश दिइएको छ।
गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गर्नुपर्ने कृषि मन्त्रालयले जनाएको छ।
यसका अलवा दूधको गुणस्तर, आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत २ वर्षको बजार मूल्यबृद्धि, विगतका ५ वर्षमा दूधको मूल्यको ट्रेन्ड र दूधको मूल्य समायोजनमा उपभोक्तामा असर विश्लेषणबारे पनि कार्यदलले अध्ययन विश्लेषण गर्नुपर्ने कार्यदेश छ।
कार्यदलमा नेपाल डेरी एसोसिएसन, डेरी उद्योग एसोसिएसन, मन्त्रालयका प्रतिनिधि, दुग्ध विकास सहकारीका प्रतिनिधि, दुग्ध विकास कम्पनीका प्रतिनिधि सहभागी छन्। कार्यदलको समय सीमा नतोकिए पनि भदौ एक गतेदेखि नै लागू हुने गरी प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म दूधको मूल्य बढ्न सक्ने मन्त्रालय स्रोतले जनाएको छ।