चितवन, १८ भदौ। पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भरतपुर विमानस्थललाई बिस्तार गर्ने विषयमा चासो देखाएका छन्। आफ्नै निर्वाचन क्षेत्र रहेकोले पनि भरतपुर विमानस्थलको बिस्तारप्रति यसपटक बढी नै चासो दिन थालेका हुन्।
बुधबार भरतपुर महानरपालिकाले आयोजना गरेको विमानस्थल बिस्तार तथा सुधार विषयक अन्तरक्रियाका क्रममा बोल्दै प्रचण्डले भरतपुर विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा विकास गर्नुपर्ने बताए।
‘त्रिभुवन विमानस्थलको विकल्पको रूपमा साना जहाजलाई भरतपुर विमानस्थलमा ल्याउन सकिन्छ,’ उनले भने, ‘तर, यसको लागि अब हामीले बोलेर मात्रै हुँदैन। तत्काल एक्सनमा जानुपर्छ। किनभने हामीले जनतालाई विकासको युगतर्फ प्रवेश गरेको अनुभूत गराउनु छ।’
‘भौगोलिक वनावटलाई हेर्दा भरतपुर मात्रै होइन, समग्र जिल्लालाई नै विशेष खालको गति दिनु आवश्यक छ,’ उनले भने, ‘तर, जिल्लाको पर्यटन, उद्योगलगायतका विभिन्न खालका व्यवसायलाई हेर्दा सबैभन्दा पहिले विमानस्थललाई व्यवस्थित बनाउनेतर्फ हाम्रो ध्यान गएको छ।’