काठमाडौं, फागुन २२ । सेनासम्बन्धी उजुरीबारे छलफल गर्न बिहीबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षामन्त्री र प्रधानसेनापति बोलाइएका थिए। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाले संसदीय समितिलाई नटेरेपछि सांसदले आपत्ति जनाएका छन्। समिति बैठकमा उनीहरूले आफ्नो प्रतिनिधि मात्रै पठाएका थिए।
सांसद अमरेशकुमार सिंहले रक्षासचिव र तीनतारे जर्नेल मात्रै उपस्थित भएपछि बैठक स्थगन गर्नुपर्ने बताएका थिए। समितिको अवमूल्यन गरेर मन्त्री र सेनापति नआएको उनको भनाइ थियो।
अर्का सांसद झपट रावलले पनि मन्त्री र प्रधानसेनापतिको अनुपस्थितिमा बैठक बस्नुको अर्थ नहुने बताएका थिए । छलफलका विषयमा माथिल्लो तहबाटै जवाफ माग्नुपर्ने सांसद लालबाबु पण्डितको भनाइ थियो। समिति सभापति शशी श्रेष्ठले भने निर्णय समितिले गर्ने भएकाले सांसदहरूलाई छलफलमा भाग लिन आग्रह गरेकी थिइन्।






















