असार ३ । भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको छ।
सीमा क्षेत्रमा भएको भिडन्तमा सुरुमा आफ्ना तीन सैनिकको मृत्यु भएको बताएको भारतीय सेनाले ज्यान गुमाउनेको संख्या त्यो भन्दा अधिक रहेको खुलाएको छ
सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारी (कमाण्डर) सहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो। लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भिडन्त भएको हो।
भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। तर चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेकाले भिडन्त भएको जनाएको छ।
भारतीय सेनाले मंगलबार अबेर राति आधिकारिक वक्तव्य जारी गरेर भनेको छ, ‘भारत र चीनका सेनाबिच गलवान क्षेत्रबाट पछि हटेका छन्। जुन १५–१६ को राति (सोमबार राति) सो स्थानमा दुई देशका सैनिकबिच भिडन्त भएको थियो। भिडन्तको क्रममा १७ भारतीय सैनिक गम्भीर घाइते भएका छन्। शून्य डिग्री भन्दा तलको तापक्रम र अति अग्लो सो स्थानमा गम्भीर घाइते भएका ती १७ सैनिकको मृत्यु भयो। सो स्थानमा कुल २० भारतीय सैनिकको निधन भएको हो। भारतीय सेना देशको अखण्डता र सम्प्रभूता रक्षाका लागि प्रतिवद्ध छ।’
यसअघि भारतीय सेनाले सो भिडन्तमा आफ्ना एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बताएको थियो। यस्तै समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भएको पनि बताएको थियो।
लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भएको भिडन्तपछि रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार आर्मी प्रमुखसँग समीक्षा बैठक गरेको समाचार संस्था पिटिआईले जनाएको छ। सो बैठकमा विदेश मन्त्री एस जयशंकर पनि सामेल थिए।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पिपुल्स लिबरेशन आर्मी का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चाङ्ग शुइलीको बयान जारी गरिएको छ।
सो बयानमा चाङ्गले भारतलाई आफ्ना सैनिकलाई रोकोस् र वार्ता मार्फत समस्या समाधानको मार्गमा आओस् भन्ने उल्लेख गरेको जनाइएको छ। भारतीय सैनिकले आफ्नो वचन उल्लंघन गरेको उनले बताएका छन्।
भारतीय सैनिकले एलएसी पार गरेकाले भिडन्त भएको उनले उल्लेख गरेका छन्। भारतीय सेनाले चिनियाँ सैनिकलाई उक्साएको र पहिले आक्रमण थालेको उनले बताएका छन्। सोही कारण भिडन्त भएको उनको भनाई छ। उनले भारतले आफ्ना सैनिकलाई रोक्नु पर्ने र वार्ता मार्फत समस्या समाधान गर्नु पर्ने माग गरेका छन्।
भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबिच तनावको अवस्था रहँदै आएको छ। समस्या समाधानका लागि वार्ता भइरहे पनि तनाव भने जारी छ।
कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो। यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिकको ज्यान गएको थियो। यस्तै दुई पक्षबिच सन् १९६७ मा भिडन्त भएको थियो।
१९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पेट्रोलिङ्गमा रहेको भारतीय भौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो। त्यसअघि सन् १९६७ मा नाथु ला क्षेत्रमा दुई देशका सेनाबिच भिडन्त भएको थियो।


























