काठमाडौँ, २७ बैशाख। निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको भन्दै एघार विद्यार्थी सङ्गठनले शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरि सङ्गठनको तर्फबाट नेविसंघका पूर्व–उपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गरे।
संगठनले विज्ञप्ति नै जारी गरेर सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न कूल बजेटको २५ प्रतिशत वृद्धिको मागसमेत गरेको छ। साथै राज्यकोषबाट तलब प्राप्त गर्ने सबै सेवाका राष्ट्रसेवकले आफ्ना सन्ततिलाई अनिवार्यरुपमा सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने र निजी शैक्षिक संस्था सञ्चालन गर्न नपाउने व्यवस्थाको उल्लेख गरिएको छ।
विज्ञप्तिमा मेडिकल कलेजको मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी जनताको प्रतिव्यक्ति आयका आधारमा निश्चित शुल्क लिन वैज्ञानिक शुल्क निर्धारणलगायतको माग गरिएको छ।–रासस