काठमाडौँ, २७ बैशाख। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार १३औँ सागको तयारीमा जुटिसकेको दावी गरेका छन्। शुक्रबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले भने, ‘आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको छ। त्यसैले सागको मिति अब सर्दैन।’
सरकारको आर्थिक वर्ष २०७६÷७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्त्वको १३औँ साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा उल्लेख गरेको बताउँदै उनले बिहीबार उक्त प्रतियोगिताको लागि तयारी तथा व्यवस्थापन समिति गठन गरेको बताए।
सीमित स्रोत र साधनको बाबजुद पनि नेपालले खेलकूद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पार्दै मन्त्री विश्वकर्माले भने, ‘हाम्रो उत्साहजनक र गौरव गर्न सक्ने इतिहास छ। अझै गौरव गर्न लायकको अवस्था बनिरहेको छ, १३ औँ साग प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम र रक्षा गर्ने अभिभारा हामीसँग छ।’
प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको बताउँदै आगामी जेठदेखि नै खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने उनको भनाइ छ।
प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका कामसमेत तीव्र गतिमा भइरहेको उनले बताए। ‘भूकम्पपछि भत्किएको दशरथ रङ्गशालाको पुनःनिर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘रङ्गशाला पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ।’ सातदोबाटो पौडी पोखरीको निर्माण कार्यसमेत सम्पन्न भइसकेको मन्त्री विश्वकर्माले बताए। ‘सातदोबाटोकै तेक्वान्दो र कराँतेको हल पनि निर्माण भइसकेको छ,’ उनले भने।
खेलकुद क्षेत्रको विकासका लागि सरकारी, निजी तथा गैरसरकारी सबैले मिलेर सहकार्य गर्नुपर्ने बताउँदै मन्त्री विश्वकर्माले भने, ‘धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न लागेको कुरा सकारात्मक छ, जसको लागि सबैको साथ र सहयोग अपरिहार्य छ।–रासस