भरतपुर । सरकारले आन्दोलनरत शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवम् कक्षा १२ को राष्ट्रिय परीक्षासमेत नजिकिन थालेकाले प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन् ।
मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरू सम्बोधन गर्न सरकार संवेदनशील रहेको र त्यसका निम्ति निरन्तर संवादमा रहेको दाबीसमेत गरिन् ।
सरकारले विद्यालय फर्किन आग्रह गरे पनि शिक्षकहरु टसको मस भएका छैनन् । २ साता लामो भइसकेको आन्दोलनलाई अझै सशक्त बनाउन जिल्ला–जिल्लाबाट शिक्षकहरुलाई काठमाडौं आउन आह्वान गरिएको छ ।
नेपाल शिक्षक महासङ्घमा आवद्ध चितवनका ६ वटा सङ्गठनले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै विद्यार्थी भर्ना, उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षाको तयारीलगायत कुनै पनि शैक्षिक गतिविधिमा सामेल नहुन सबै शिक्षकहरुलाई आह्वान गरेका छन् । संगठनका प्रतिनिधिहरुको मंगलबारको भेलाले आन्दोलनलाई अझै सशक्त बनाउन बुधबार बिहानै थप ३ सय जनाभन्दा धेरै शिक्षक काठमाडौँतर्फ लैजाने निर्णय भएको भेलामा सहभागी शिक्षक विपिन पाठकले जानकारी दिए ।
शिक्षकहरुले विद्यार्थी र शिक्षकमैत्री शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै आइरहेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :