चितवन । भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले महानगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या र चापलाई मध्यनजर गर्दै ‘एक कक्षा, एक शिक्षक’को नीति लागू गर्ने बताएकी छन्। शुक्रबार भरतपुर २८ मेघौलीस्थित साझापुर माद्यमिक विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका क्रममा महानगर प्रमुख दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि पनि यो काम गर्नैपर्ने देखिएको बताएकी हुन्।
‘सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या र चापलाई मध्यनजर गर्दै करिब १५० युवा स्वयंमसेवक शिक्षक थप गर्न पनि बजेट विनियोजन भइसकेको छ,’ उनले भनिन्, ‘सामुदायिक विद्यालयलाई थप आकर्षणको केन्द्र बनाउन पनि विद्यालयको पहिचान गरी कार्यक्रम लागू गर्न लागेको हो।’
समग्र भरतपुर नै शिक्षाको हब बन्ने क्रममा रहेको भन्दै अन्य जिल्लाबाट सिकाइको लागि यहाँका विद्यालयमा शिक्षक र विद्यार्थी आउने गरेको उनले बताइन्। मेयर दाहालले महानगरपालिकाले आटेका कामहरु क्रमशः पुरा हुँदै गएको समेत दाबी गरिन्। ‘आँटेको काम पुरा भएकै छन्,’ उनले भनिन्, ‘भरतपुरमा धेरै आयोजना निर्माणधीन छन्। एकपछि अर्को अधुरो अपुरो काम पुरा गर्ने गरी अगाडि बढेका छौ।’
कार्यक्रममा मेयर दाहालले विद्यालयको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तरगतको ४ कोठे भवनको शिलान्यास गरेकी छन्। ४ कोठे भवन निर्माणका लागि रु ३५ लाख विनियोजन भएको छ। साझापुर मावि चितवन जिल्लाको जेठो विद्यालयको रुपमा परिचित यस विद्यालय बागमती प्रदेशको पहिलो प्रविधिमैत्री विद्यालय पनि हो।
विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले वर्षेनि बजेट विनियोजन गर्दै आइरहेको छ। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।


























