भरतपुर १७ चैत । एमाले चितवनको प्रचार विभागले पार्टीका नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन प्रविधिमा आधारित प्रचारशैली अपनाउने भएको छ। बिहीबार भरतपुरमा सम्पन्न विभागको पहिलो बैठकले स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन केन्द्रित अभियानलाई समेत तीव्रता दिने उद्देश्यले प्रचारका सबै विधि अपनाउने निर्णय गरेको हो।
बैठकमा एमाले जिल्ला कमिटि सदस्य एवम् प्रेस चौतारी चितवनका इन्चार्ज रामबाबु सुवेदीले व्यावसायिक पत्रकारिताको धर्मलाई आत्मसात गर्दै स्थानीय तहको निर्वाचनलक्षित पार्टीको प्रचार अभियानमा सरिक हुन चौतारीका सदस्यहरुलाई आव्हान गरे। बैठकमा निर्वाचन केन्द्रित कार्ययोजना बनाएर एमालेको अभियानमा सरिक हुनेबारे विभिन्न विषयमा समेत छलफल भएको थियो।
प्रचार विभागका प्रमुख रविकिरण पौडेलले पार्टीको निर्देशन र आम जनसमुदायको सुझावका आधारमा विभागले कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। बैठकबाटै एमाले चितवनले विधानको धारा ३७ को उपधारा २ अनुसार आफ्नो प्रचार विभागलाई बिहीबार नै पूर्णता दिएर १५ सदस्यीय बनाएको छ। पौडेल प्रमुख रहेको विभागका सम्पूर्ण सदस्यहरुलाई बैठकअघि एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले मनोनयन पत्र वितरण गरी पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पालना गर्न निर्देशन दिएका थिए।


























