पुस ३ । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ।
बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो। नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ।
नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १-१ गोल गरे। जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ। नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ।
नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो। यसअघि भूटानले पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो।
पाँचौँमा स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ। श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ। पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।


























