मंसिर २३ । अमेरिका, बेलायत र अष्ट्रेलियासँगै क्यानाडाले पनि चीनमा हुने विन्टर ओलम्पिकको कुटनीतिक बहिष्कार गर्ने भएको छ।
विन्टर ओलम्पिक आगामी फेब्रअरी ४ देखि २० सम्म बेइजिङमा हुँदैछ। तर क्यानाडाले ओलम्पिकको कुटनीटिक बहिष्कार गरेको जनाएको छ। यसको अर्थ क्यानाडाले सरकारी पदाधिकारीहरुको टोली बेइजिङ पठाउने छैन।
यस अघि अमेरिका, बेलायत र अष्ट्रेलियाले पनि ओलम्पिकको कुटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन्। चीनको मानवअधिकारको तथ्यांकलाई लिएर आफूहरुले कुटनीतिक बहिष्कार गरेको क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रडियाले बताए।
उनका अनुसार चीनका लागि यो निर्णय कुनै आश्चर्यचकित पार्ने समाचार हुनेछैन। जस्टीनले आफूहरुले वर्षौदेखि चीनको मानवअधिकार उल्लंघटनका घटनालाई लिएर गम्भिर ध्यानाकर्षण गराउदै आएको दावी गरे। तर जस्टीनले क्यानाडाका खेलाडीहरुले सहभागिता जनाउने सुनिश्चित गरे।
अष्ट्रेलिया र अमेरिकाका अधिकारीहरुले पनि चीनले उघर्स मुस्लिमहरुमाथि गरेको मानवअधिकार उल्लंघनका कारण आफूहरुले कुटनीतिक बहिष्कार गरेको जनाएका थिए।
यता बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कुटनीतिक बहिष्कार गरेको बताउदै खेलको बहिष्कार भने नगर्ने बताए। एजेन्सी


























