जाजरकोट, मंसिर १२ । शनिबार राति नेपालगन्जदेखि जाजरकोट जाँदै गरेको बस भेरी नगरपालिका–१३ बराचौरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
मृतक पाँचै जनाको सनाखत भएको छ। जारकोटको कालिमाटीतर्फ जाँदै गरेको ना.६ ख २७५७ नम्बरको बस सडकबाट दुईसय मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेहरु जाजरकोट कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, रुकुम पश्चिमको आठविस नगरपालिका–५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनीकी ४ वर्षीया छोरी दिव्या शाही र सप्तरी राजविराज नगरपालिका–१ का ४० वर्षीय गंगाराम यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिलेसम्म उद्धार गर्दा घाइतेको संख्या २९ पुगेको छ। सामान्य घाइतेहरुलाई जिल्ला अस्पताल जाजरकोट पठाइएको छ भने, गम्भीर भएकालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
प्रहरीले बसका चालक नेपालगन्ज उपमहानगरपालिका–४ का ४६ वर्षीय चित्रबहादुर देनाललाई नियन्त्रणमा लिएको छ।


























