चितवन । चितवन प्रहरीले बुधबार करिब एक करोड १० लाख रूपैयाँ मूल्य बराबरको गहनासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार मंगलबार राति करिब १ बजेको समयमा पूर्वपश्चिम राजमार्गको भरतपुर क्षेत्रअन्तर्गत गोन्द्राङबाट १९ थरीका गरगहनासहित पक्राउ गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नेक्सन कम्पनीको डब्ल्यूबी १२ एभी ५५६६ नम्बर भएको भारतीय गाडीमा गहना लुकाएर ल्याएको फेला पारेपछि कार चालक भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, कारमा सवार भारत पश्चिम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कोलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका ४२ वर्षीय नरेश बर्मालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए।

बरामद गरिएका गहनाहरु
उनीहरूले आफू सवार गाडीको सवार बस्ने सिटमुनि, गियर बक्सभित्र र एयर फिल्टरभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा बहुमूल्य सुनका गरगहना तथा विभिन्न किसिमका पत्थरसमेत फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तत्काल नापतौल गर्दा सुनजस्तो देखिने १२ थान धातुको चोकर (१५.५५५ तोला), सुनजस्तो देखिने पाँच थान सिक्री (पाइप) ५.१७५ तोला, हीराजस्तो देखिने चम्किलो धातु जडित दुई थान औँठी (०.६४३ तोला), आठ थान बक्स औँठी (१.९९७ तोला), पाँच थान मिनी हार (३.८५८ तोला, दुई थान टोपा औँठी (१.५३७ तोला), चार थान लकेट (१.२९४ तोला), चप्रा नभरेको ६ थान चुरा (५.७५७ तोला), ३१ जोर झुम्का (१२.७७२ तोला), चप्रा र लाहा भरेको चार थान चुरा (९.१६५ तोला), ट्यागसहितको चार थान मिनासहितको कल्ली बाला (६.१४५ तोला), सात थान हीराको हार (१०.३८८ तोला) बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।
यस्तै ट्यागसहित एक थान हीराको ब्रास्लेट (१.३७० तोला), ट्यागसहित एक थान हीराको बाला (०.६४७ तोला), ट्यागसहित चार थान हीराको औँठी (२.२२१ तोला), ट्यागसहित दुई थान हीराकै लकेट (१.४१८ तोला), ट्यागसहित हीराको १० थान झुम्का (४.७०० तोला), ट्यागसहित हीराको टप (२.१०४ तोला) र ३६ थान विभिन्न किसिमका पत्थर बरामद गरिएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए।
ती सबै गहनाको तौल लिँदा सुनका गहना ६३.८९८ थोला र हीराजडित गहना २२.८७८ तोला देखिएको उनले बताए। ती सामग्रीको बजार मूल्य करिब एक करोड १० लाख रूपैयाँ बराबरको हुन आउने प्रहरीले जनाएको छ।