काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो ।
भूकम्पबाट के–कति क्षति पुगे–नपुगेको बारेमा हालसम्म कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।
पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्पको परकम्पन गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ म्यााग्निच्युडको परकम्पन महसुस गरिएको थियो ।
गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई नै केन्द्रविन्दु बनाएर ४.१ म्यााग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कुनै क्षति भए–नभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ ०८ः०७ बजे र ०८ः१० बजे सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक परकम्पन महसुस भएको थियो । त्यसबेला केही घरमा सामान्य क्षति पुगेको बताइएको छ ।
चैत २० मा दार्चुलामा ४ म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लालाई केन्द्रविन्दु बनाएर ४.५ म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको तथ्यांक छ ।