मंसिर १२ । यो वर्षको वाईवाई डायनामाइट ब्रेक बार्स सम्पन्न भएको छ। कार्यक्रमको फाइनल २५ नोभेम्बर २०२१ मा क्लब फरेनहाइटमा भएको थियो भने वाईवाईको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
क्लबमा लगभग ८०० जना उपस्थित थिए भने लाइभमा लगभग ३६,०४८ व्यक्ति सहभागी भएको कम्पनीले बताएको छ। कार्यक्रममा भिटेन र सुशान्त खत्रीजस्ता सेलिब्रेटीले उपस्थिति जनाएका थिए। कार्यक्रममा अन्य तीन नियमित निर्णायकसँगै युनिक पोयट र केटीएम सौल्झा अतिथि निर्णायक थिए। दीमृतिले स्वप्निललाई हराएर सोको अन्तिम विजेता बनिन्। त्यसैगरी बाबुले हरिपलाई पराजित गर्दै वाइल्ड कार्ड जिते। वाईवाई डायनामाइट ब्रेक बार्स र्याप रियालिटी सो हो। यसले नेपालभरका शीर्ष १६ र्यापरसँग आफ्नो यात्रा सुरु गरेको थियो।
इजी टूब्लेभ, इज इज इजी र डिजे वितालका निर्णायक मण्डलीमा पहिलो पटक २१ सेप्टेम्बर २०२१ मा प्रिमियर सो भएको थियो। कार्यक्रम ब्रेक स्टेसन र वाईवाईको युट्युब च्यानलमार्फत एकैसाथ प्रसारण हुन्छ। पहिलो राउन्डका आठै जना विजेतालाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। क्वार्टरफाइनलका चारै विजेताले २२ हजार नगद र सेमिफाइनल विजेताले ३३,००० रुपैयाँ पुरस्कार पाएको कम्पनीले जनाएको छ। फाइनलमा उपविजेता स्वप्निल र विजेता दीमृतिले नगद ४४००० र १,००,००० क्रमशः पुरस्कार पाए।
नेपालभरबाट सामाजिक सञ्जालमार्फत गरिएको अडिसनबाट छनोट भएका दुई वाइल्ड कार्ड एन्ट्रीले फाइनलमा आफू र बाबुबीच भिड्ने अवसर पाएका थिए। उक्त राउन्डका विजेतालाई २०,००० रुपैयाँ नगद प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य प्रायोजन वाईवाईले गरेको हो।


























