काठमाडौं, मंसिर ११ । च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।
शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे।
तर, च्यासलले गोलका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो। पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन्। खेलको १७ औं मिनेटमा च्यासलका मिडफिल्डर अजित गुरुङको सशक्त प्रहार एपीएफका गोलकिपर राजु योगीले मुश्किलले बचाए।
एपीएफका आशिष लामाले ३० औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरिएको थियो। खेलको ४० औं मिनेटमा कर्नरबाट आएको बलमा च्यासलका विकास मेराग्लियाको हेडर एपीएफका राजन गुरुङले गोललाईन नजिकैबाट बचाए। लगत्तै च्यासलका सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले क्लियर गरिदिएका थिए।
तर, खेलको ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए। कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा सुन्दर गोल गरे। जुन गोल खेलको निर्णायक गोल बन्यो।
यस्तै च्यासलका यानिक केचाले ६६ औं मिनेटमा गोलको अवसर खेर फाले। कमलको कर्नरमा रुमेशको फ्लिक हेडर पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका उनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो।
यस जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ। च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ। च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३-० ले पराजित भएको थियो।
एपीएफको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। एपीएफ २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ। खेलको म्यान अफ दि म्याच रुमेश चुनिए।


























