मंसिर ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
राजधानीको एक होटलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा झापा क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका लिङ्देनले आसन्न पार्टीको महाधिवेशनमा आफू अध्यक्ष पदमा उम्मेद्वार हुने र जित्ने दावी गरे।
राप्रपाका अर्को प्रभावशाली नेता एवम् नेपालगञ्ज महानगरपालिकाका मेयर धवल शमशेर राणाले लिङ्देनको उम्मेद्वारी सार्वजनिक गर्दै उनलाई जिताए मात्रै राप्रपाको भविष्य रहने जिकिर गरेका थिए।
आफ्नो उम्मेद्वारी राप्रपा जोगाउन परम्परागत गुटको अन्त्यका लागि र पार्टीमा युवा पुस्ताको पकड बलियो बनाउनका निम्ति रहेको उनले दावी गरेका छन्। नेतृत्व परिवर्तन बारे तर्क गर्दै लिङ्देनले भने –‘यदि हामी यो पशुपति शमशेरको मान्छे, यो थापाको मान्छे, यो डाक्टर लोहनीको मान्छे भन्ने दाग मेटाउन चाहन्छौं भने यो सुनौलो अवसर हो।’
हिन्दु राष्ट्र र राजसंस्था कायम हुँदा, संघीयता खारेज हुँदा मुलुक र राष्ट्रता जोगिने भन्दै ‘कुनै नेताको खल्तीको रुमाल हो कि हामी साँच्चै नै राजसंस्था र हिन्दु राष्ट्रकका लागि लागेका हौं ?’, कार्यकर्ता पंक्तीलाई लिङ्देनले प्रश्न गरे।
नेतृत्व हस्तान्तरणको सहज व्यवस्था संविधानमै नरहेका कारणले पार्टीहरुभित्र टुटफुटको समस्या आइरहने तर्क गर्दै उनले भने –‘एउटा मान्छेले कति पटक प्रधानमन्त्री बन्न पाउने, एउटा मान्छेले कति पटक पार्टी अध्यक्ष हुन पाउने भन्ने व्यवस्था संविधानमा छैन।’
दुई कार्यकाल भन्दा बढी पार्टी अध्यक्ष हुन नपाउने, प्रधानमन्त्री हुँदा पनि दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था कायम गर्न आफ्नो नेतृत्वमा राप्रपाले भूमिका खेलने लिङ्देनको जिकिर थियो।
राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीलाई इगिंत गर्दै उनले भने –‘यो तपाईहरुको विरुद्धमा दिइएको उम्मेद्वारी होइन, तपाईहरु राप्रपामा अध्यक्ष हुनुहुन्थ्यो भन्ने इतिहास सुरक्षित राख्नका लागि यो उम्मेद्वारी हो। यसले कसैलाई नोकसानी पुर्याउँदैन।’
राप्रपाले मंसिर १५, १६ र १७ गते काठमाडौंमा महाधिवेशन गर्ने पछिल्लो कार्यतालिका सार्वजनिक गरेको छ। त्रयअध्यक्ष रहेका राणा, थापा र लोहनी मध्ये थापा अध्यक्षका लागि बलियो उम्मेद्वारका रूपमा देखिएका छन् भने महामन्त्री लिङ्देनले राप्रपाको नेतृत्वमा युवा पुस्तालाई स्थापित गर्ने अभियानसहित आफ्नो जित पक्का भएको दावी गर्दै आएका छन्।


























