जनकपुरधाम, कार्तिक २२ । गृहमन्त्री बालकृष्ण खाणले ऐन ल्याएर नागरिकता समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले अध्यादेशमार्फत होइन ऐन ल्याएरै नागिकता समस्या समाधान गर्ने बताए। ‘नागरिकता समस्या तराई मधेश मात्र नभई सम्पूर्ण देशकै समस्या हो,’ उनले भने, ‘यो समस्या अध्यादेशमार्फत होइन ऐन ल्याएर नै तत्कालै समाधान गर्नेछौं।’
न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताए। यसबारे गठबन्धन दलले छिट्टै नै कुनै निष्कर्ष निकाल्ने उनको भनाइ छ।
काँग्रेस महाधिवेशनको प्रशंगमा गृहमन्त्री खाणले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधीले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने भन्दै उनले महाधिवेशनले पार्टी र अन्यसबैलाई प्रभाव पार्ने बताए।


























