– माया के हो, म जस्तो नादानलाई कसले सिकाउने?
सानो छँदा मलाई मेरी आमाले भन्नुहुन्थ्यो, ‘छोरी जसमा तिमीले आफ्नो बुवाको अवतार देख्छौ र तिमीलाई जसले आफ्नो बुवाजस्तै माया गर्छ, उसलाई आफ्नो सपनाको राजकुमार ठान्नू।’
मेरी आमाले सिकाएको सतकर्मलाई पछ्याउने कोशिष गर्दा मैले हकिकतमै एउटा साधारण, इमान्दार ‘तिमी’ पाएँ।
तिमीलाई भेट्नु अगावै म कताकता रुमल्लिएको सिमलको भुवाजस्तै थिएँ, तिम्रो आगमनले म बिस्तारै पात पलाउँदै गएको पारिजातको बोटजस्तै हुँदै गएँ। तिमीसँगको सम्बन्धले मैले अनेकौँ सुगन्धित र नयाँ–नयाँ गीतका भाकाहरु गाउन थालेकी छु। मैले सुगन्ध लिने हरेक फूलका कोपिलाहरू तिम्रै बास्नाले फक्रिए जस्तो लाग्छ। र, म पनि तिमी जस्तै कोपिल बाट फक्रँदै, फुल्दै, फक्रँदै, फुल्दै सुन्दर बनेर वरपर सुगन्ध छर्दै फुलिरहेँ।
तिमी त त्यो सिमलको भुवाजस्तै उडेर टाढा गयौ, म तिमीलाई फेरी कहिले कहाँ भेट्छु थाहा नै छैन। तिमी जहाँ रहे पनि म तिमीलाई बिहानको चिसो शित बनेर म हुनुको स्पर्श गराउने छु, चर्को घाम बनेर प्रत्येक किरणले तिमीलाई छुन पो सक्छु कि? वर्षायामको तप, तप पानीको थोपा बनेर तिम्रो शरीर नै सिरिङ्ग पार्न पो सक्छु कि?
मलाई त्यो चर्को घामले पोलेको देख्दा तिमीले बोत्तलको चिसो पानी किनेर मैमाथि छर्कँदै ‘पानी पर्यो, बिस्तारै हिड’ भन्दै मेरै हातको औँलाको कापामा आफ्नो औँला मिसाउँदै मायाले मेरो हात समाउँदै हिडेको याद अझै पनि आँखा अगाडि ताजै छ।
जिन्दगी सुरु हुनु अगावै तिमीसँग म बाचा गर्नेछु, चाहे परिस्थितिले जहाँसुकै लैजाओस्, अवस्था जस्तोसुकै बनोस्, म तिम्रै पैतालाका डोबहरू पछ्याउँदै बुढेसकालसम्म तिम्रो सहाराको लठ्ठी बन्नेछु। दिलको एकदमै सफा छौ तिमी, त्यसैले त खास छौ तिमी, भित्र म आफ्नो मनको आत्मिय साथी पाउँछु, देखेकै छैन तिमीलाई, मात्र कल्पनामा सीमित छौ। त्यै पनि तिमीलाई नै याद गर्छु, तिम्रो दिलमा मायाको बाहार छर्ने धेरै मीठो सुगन्ध पाउँछु, पहिला तिमीलाई कल्पिँदा पनि माया लाग्थ्यो, अब त मलाई तिम्रो बानी नै बसिसक्यो।
मेरा साथीहरु धेरैजसो भन्ने गर्छन् कि माया साँचो नै हुँदैन, उनीहरुको दोधारे प्रश्नको जवाफ हौ ‘तिमी’। मायाको प्यारो उदाहरण हौ ‘तिमी’। मलाई तिम्रो मायाको आभाष आत्माबाटै हुन्छ। तिम्रो हरेक शब्दले जिन्दगीमा थप उमंग छर्ने गरेको छ। तिमीसँग भेट्दाको त्यो प्यारो क्षण अनि मिठो माया, हामी भेटेको हाम्रो गाउँको खोलाको बगरमा त्यो बालुवाको कण–कणले मलाई पछिसम्मको लागि पनि सम्झना पोको पारेर सम्हालिदिएको छ।
त्यो बालुवाको बगरमा हिँड्दाहिँड्दै मेरो खाली खुट्टा फतक्कै गलेको र घामले पोलेको हुँदा तिमीले मेरो अप्ठ्यारो महसुस गर्दै मौन भई एकनाशले मलाई नै हेरिरहन्थ्यौ। मलाई त्यो चर्को घामले पोलेको देख्दा तिमीले बोत्तलको चिसो पानी किनेर मैमाथि छर्कँदै ‘पानी पर्यो, बिस्तारै हिड’ भन्दै मेरै हातको औँलाको कापामा आफ्नो औँला मिसाउँदै मायाले मेरो हात समाउँदै हिडेको याद अझै पनि आँखा अगाडि ताजै छ।
म धेरै बोल्ने अनि तिमी धेरै सुन्ने, हाम्रो जोडी कति मुलायम आहा ! म तिमीलाई आफ्नो गाउँ घुमाउँदै थिएँ, म बाटोमा बोल्दाबोल्दै आफ्नै एकोहोरो सूरमा गाडीको छेउमा पुगेको पत्तै पाइनछु। त्यसैबखत तिमी अत्तालिएर मलाई तान्दै ‘बदमास आखाँ नहेरी बाटोको बीचमा कोही हिड्छन् ?’ भनेर गाली गर्दै जोडले तान्दै आफ्नो अङ्गालोमा बेरेको कति प्यारो लागेको थियो, त्यो बाटोको प्रत्येक घुमाउरा गल्लीले मलाई तिम्रै यादले अँगालो मारेजस्तो महसुस हुन्छ।
बिस्तारै तिमी केही दिनपछि आफ्नो गाउँ फर्कने भयौ। मेरो मन कता कता उडिरहेको त्यही सिमलको भुवाजस्तै एक्लो भयो। र, तिम्रो नैराश्यता देख्दा तिमीलाई खुसी बनाउन देखावटी मन्द–मुस्कान छरिरहेँ। तिमीलाई राम्रोसँग जाउ भन्न पनि मेरा आँखा रसाए। तिमी पुग्यौ वा पुगेनौ थाहै पाइनँ।
बादलको त्यो मन नै मोहित बनाउने आकृति देख्दा मेरो मुटु तिम्रै कल्पनाले सिरिङ्ग हुन्छ। र, बिस्तारै मेरो आङमा काँडा उम्रन थाल्छन्। तिमीसँग कहिलेकाहीँ हकको कुरा पनि गर्न मन लाग्छ, गरौँ? तिमीसँग कुरा गर्दा म बच्चाजस्तो बन्छु अनि एकै सासमा सबै कुरा सुनाउँछु।
तिमी त आफ्नो गाउँ पुगिसकेर गाडीबाट ओर्लनासाथ त्यसै पल मेरो गाउँ आउने गाडी चढेर मेरै गाउँ फर्किएछौ, तिमीलाई भोलिपल्ट देख्नासाथ मैले आफ्नो खुसी आफ्नो आखाँमा थाम्नै सकिन। र, त्यही पलमा मैले थाहा पाएँ कि मायामा यस्तो मीठो तागत पनि हुने रै’छ। मेरो रसाएको आँखा देख्दा तिमी एक अव्यक्त भावुकताको कैदी बन्यौ।
तिमी कहिल्यै पनि पीर नगर्नू कि यसलाई के उपहार दिऊँ ? यसलाई कसरी राखूँ? कसरी माया गरुँ? मलाई उपहारमा तिमीबाट महँगो गहना र सम्पति चाहिँदैन। मात्र तिम्रो सत्य कर्म, मीठो बचन र विश्वास चाहिन्छ। अनि मेरो प्यारो तिमी मलाई कुनै पनि पर्वमा तिमीबाट महँगो होटलको खाना, गाडी घोडाको चाहना नै छैन। मलाई तिम्रो घरको छतमा मेरो लागि एउटा इज्जतको प्यारो ठाउँ पाए पुग्छ।
तिमी मलाई तिम्रो आफन्तजन र साथीभाइसँग राम्रो परिचय गराउँछौ, यसमा म पूर्ण विश्वस्त छु। तर साथीहरुको बीचमा माया मात्र होइन, फोटोमाथि मीठा शब्दहरू मात्र होइन, मलाई वास्तविक जीवनमा पनि इज्जत र मीठो रोमान्स चाहिन्छ। तिमी मलाई झुटा कसम नदेऊ, म यत्ति चाहन्छु कि हाम्रा कारणले परिवारमा असर आउने काम नहोस् र हामीबीच यति मीठो सम्बन्ध होस् कि जुन कसैले पनि कुनै किताब या चलचित्रमा मात्र सुनेको देखेको होस्।
तिम्रो र मेरो जीवन मलाई परआत्माको मिलन जस्तो लाग्छ। म तिमीलाई हरेक आकृतिमा पाउँछु। लाग्छ यो निलो आकाशमा मडारिएको सेतो बादल तिमी हौ। म चर्को घाममा आफ्नो कदम चाल्छु, तिमी माथिबाट ढपक्कै मलाई छोपेर शितल पारिदिन्छौ। म खुसीले त्यो बादललाई तिमी सम्झेर हेर्न र छुन चाहन्छु, तर सक्दिनँ। र, त्यो सेतो बादल सबैतिरबाट पोको पर्दै एक अर्कामा लतपतिँदै बेरिन्छन्, बादलको त्यो सौन्दर्य देख्दा म फेरी पनि तिमीलाई नै सम्झन्छु, तिमी र म आफ्नो तृष्णा मेटाउन एकै ठाउँ भेटिएझैं।
बादलको त्यो मन नै मोहित बनाउने आकृति देख्दा मेरो मुटु तिम्रै कल्पनाले सिरिङ्ग हुन्छ। र, बिस्तारै मेरो आङमा काँडा उम्रन थाल्छन्। तिमीसँग कहिलेकाहीँ हकको कुरा पनि गर्न मन लाग्छ, गरौँ? तिमीसँग कुरा गर्दा म बच्चाजस्तो बन्छु अनि एकै सासमा सबै कुरा सुनाउँछु। बीच–बीचमा तिमी मुस्कुराउँछौँ र मैले के भयो भनी कारण सोध्दा केही होइन भन्छौ। तिमीलाई के लाग्छ, म कारण पत्ता लगाउन सक्दिन होला त तिम्रो हाँसोको कारण? अनि खुसीको रहस्य? मलाई पनि आज जान्न मन लाग्यो, तिम्रो मनले मसँग मात्र झुटो बोल्छ। अनि ती ओठले त्यो मुस्कानको हकदार म मात्र छु नि?
अनि म नचाँहदा नचाहँदै पनि लुकेर दमित आवाजमा रुन थाल्छु। तिमीसँगको सकारात्मक दुरीले मन अत्तालिन्छ, म केहिबेर शून्यमा स्थिर हुन्छु। र, तिम्रै कल्पनामा उत्रिएका भावहरु सजाउँदै सुनौलो महसुस गर्छु।
आफ्नो जीवन कसैसँग बाँड्नको लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा नै स्वीकृति हो। त्यो मान्छेलाई पूर्णरूपमा स्वीकार्न सिक्नुपर्छ। उसको राम्रो नराम्रो सबै कुरालाई अंगाल्न सक्नुपर्दछ। अनि बल्ल त्यो सम्बन्ध मौलाउँछ। एक अर्काको कमी कमजोरी खोज्न, खसाल्न, तौलिन, धनी, गरिबको हिसाब राख्न खोज्यो भने त्यो सम्बन्धमा स्वतहः चिसावट आइदिन्छ। त्यसको सट्टा उसलाई हौसला दिन र उसको प्रेरणा बन्न सक्नुपर्छ। मायामा लगाव हुनुपर्छ, त्याग गर्न सक्ने क्षमता हुन पर्छ।
यदि त्यही व्यक्तिसँग जीवन बिताउने नै हो भने एकअर्काप्रतिको दोष यो हो भनेर घचघचाउने, पतन बनाउनेभन्दा पहिल्यै एकअर्काले आ–आफ्नो गल्ती स्वीकार गरी माफी माग्न र गल्ती सुधार गर्ने प्रयत्न गर्नुपर्छ। आफूले माया गरेको मान्छेको कमजोरीलाई उसको शक्ति बनाइदिन मदत गर्नुपर्छ। त्यसैले गल्ती सुधार्ने मौका पनि दिनुपर्छ। पूर्ण निष्ठाले गहिराइमा पुगेर माया गर्नुपर्छ, एकअर्काको इज्जत गर्न सिके सम्बन्ध आफैँ मजबुद बन्छ।
म तिमीलाई पनि तिम्रो हरेक उत्सवमा केही दिन सक्दिनँ। सायद म केही दिन सक्ने लायक बनेकै छैन जस्तो लाग्छ। ममाथि विश्वास गर, म तिमीसँग तिम्रै शून्यताबाट मिसिएर एउटा बग्ने नदी बन्न सक्छु। म तिम्रो हरेक जन्मदिन आउँदै गर्दा हृदय ठूलो बनाएर आशिर्वाद भने दिन्छु। यो ब्रह्माण्डमा रहेका हरेक वस्तुले, तिमीलाई देख्ने, तिमीलाई सुन्ने र चिन्ने सबैले तिम्रो सफलताको गीत गाउन्, ती चराहरु पनि तिम्रो खुसीमा नाच्न, गाउन र उत्सव मनाउन बाध्य होऊन्। अनि एउटा कुरा याद गर्नू तिम्रो कमाइले होइन, तिम्रो सत्कर्मले राम्रो संस्कारले, तिमीले प्राप्त गरेर सिएर राखेका मालाका गुच्छाजस्ता तिम्रै सफलताले तिम्रो बुवा–आमालाई तिमी जन्माउनुको ठूलो सार हुन्छ।
मेरो आशिर्वादले तिमीमा सदैव तागत, जोस् र उमंग छाइरहोस्। मेरो प्रार्थनाले तिम्रो दुःख, पीडा र नैराश्यताबाट तिमीलाई खबरै नगरी टाढा राखोस्। तिमीले देखेका हरिया दुबोजस्तै सप्तरंगी सपना पराल जसरी सुकेर कहिल्यै नजाऊन्।
मैले हजुरलाई यसै चाहेको होइन, मैले हजुरको मायामा आफू हुनुको अस्तित्वको अर्थ पाएकी छु। हामीबीच जब झगडा हुन्थ्यो, मन तब दुख्थ्यो। भ्रम धेरै बढ्न लाग्यो। फेरी तिमीले त्यस्ता शब्दहरु पनि सुन्न थाल्यौ, जुन मैले कहिल्यै भन्दै भनिन, तिमीले दिएका केही रुखो शब्दहरुले मनका बादलहरु एकआपसमा ठोक्किन्छन्। अनि म नचाँहदा नचाहँदै पनि लुकेर दमित आवाजमा रुन थाल्छु। तिमीसँगको सकारात्मक दुरीले मन अत्तालिन्छ, म केहिबेर शून्यमा स्थिर हुन्छु। र, तिम्रै कल्पनामा उत्रिएका भावहरु सजाउँदै सुनौलो महसुस गर्छु।
तिमी हाम्रो जीवनमा आएका चुनौतीलाई सहजरूपमा जित्ने आँट र हिम्मत राखिदेऊ, म जिन्दगीभर झुकेर सब नातालाई सयपत्री फूल जसरी फुलाएर राख्ने छु।
मलाई तिमी टाढा छौ भन्ने कुराको पीर हैन। तर कतै हाम्रो मायालाई टाढा लगिदिने बैरी बतास भित्रिदिन्छ कि भन्ने पीरले चाहिँ मनलाई बेस्सरी पिरोल्छ, अनि ती मनगणन्ते भावनालाई बिथोल्न खोज्दा–खोज्दै कोशौँपारीको तिमीलाई सम्झेर यी आखाँले मलाई नै नसोधी आँसुले आँखाको बाँध नै भत्काइदिन्छन्।
म त तिमीले देख्न वा भेट्नै नमिल्ने ठाउँमा छु। तर म एक्लै बसिरहेको बेला तिम्रो आवाजमा त्यो पल्लो डाँडाबाट कसैले मलाई नै बोलाएको जस्तो लाग्छ। म हल्मलाउदिँन। मात्र त्यो आवाज घुरिएर सुन्छु। त्यो आवाजलाई त्यति नजिकैको मेरो कानले सुन्दैन। तर भित्र दबेको मेरो मनले कसरी सुन्छ?
मैले आफ्नो हरेक सोचमा तिमीलाई नै निम्ता दिने गरेकी छु। जबजब ओठ खुल्छ, नाम तिम्रै आउँछ। माया पनि त तिम्रै मात्र लाग्छ नि। भयो छोड, कति कल्पनाको मात्र कुरा गर्नु? तिमी विश्वास गर ममाथि, म भन्दिनँ कसैलाई तिमी मेरो सासको पनि सास हौ भनेर। तिमी मेरो धड्कनको पनि धड्कन हौ भनेर। तर उनीहरुसँग कसरी लुकाउनु, जस्ले मेरो आखाँमा नियाल्दा तिम्रै तस्बिर देख्छन्।
तिमीसँगै जोडिएको एउटा् ठूलो सपना छ, तिम्रो नामको सिन्दुरले आफ़ूलाई पूर्ण बनाउन मन छ, त्यो सिन्दुरको धर्कोले तिम्रो आयू लामो होस् भनी कामना गर्न मन छ। तिमी हाम्रो जीवनमा आएका चुनौतीलाई सहजरूपमा जित्ने आँट र हिम्मत राखिदेऊ, म जिन्दगीभर झुकेर सब नातालाई सयपत्री फूल जसरी फुलाएर राख्ने छु।
डुब्न नडराई मन खोलेर माया गर्न सके मायाले कहिलै डुबाउँदैन। हावाले मलाई चारैतिरबाट तिम्रो स्पर्श गराउँदै कताकता काउकुती लगाउँदै सुस्त भाग्ला, तर त्यही सुगन्ध दिने मलाई माया गर्ने हावालाई तिमी भनेर अँगाल्न खोज्दा तिमीलाई नै पाउँदिनँ, किन?
मलाई त चारैतिर तिमी नै तिमी हुनुको आभाष हुँदै ब्रह्माण्डका हरेक वस्तुले तिम्रैमात्र स्पर्श गराउँछन्।
अनि तिमीलाई ?
(सम्पूर्ण माया गर्ने आत्माहरुमा कल्पित यो मेरो सानो उपहार।)


























