कार्तिक १३ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन्।
अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता भएकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन ढिला भएको पनि स्पष्ट पारे।
शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्ता गठबन्धनको बैठक बस्नेबित्तिकै समस्या समाधान हुने गरी अदालतबारे आफूहरुले दृष्टिकोण सार्वजनिक गर्ने बताए। अध्यक्ष दाहालले गठबन्धनभित्र कुनै विवाद नरहेको दावी गरे।
‘गठबन्धन ठीक ढंगले अगाडि बढदैछ। तपाईँहरुले पनि देखि राख्नु भएको छ। सरकारले पूर्णता पाइसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ। काठमाडौंमा अहिले नेताहरु कोहि कता, कोही कता भएकाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ’, उनले भने, ‘बैठक बस्नेवित्तिकै हामी धारणा बाहिर ल्याउँछौँ। यसलाई समाधान गर्छौं। गठबन्धन स्मुथ्ली चलेको छ। कुनै राजनीतिक वा अन्य विवाद छैन।’


























