पोखरा, फागुन १७ । गृहमन्त्री तथा नेकपा ओलीपक्षका नेता रामबहादुर थापाले अदालतको निर्णय देशको पक्षमा नदेखिएको बताएका छन्। अदालतको निर्णयले शक्ति पृथकीकरण रहेको देखाएपनि अदालतको निर्णयले अस्थिरताको निर्माण गरेको उनले बताए। अदालतको निर्णय देशको पक्षमा नदेखिए पनि आफूहरुले मान्ने उनले सुनाए। सोमबार गण्डकी प्रदेशस्तरीय नेताकार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।
अदालतको निर्णयले देशलाई अस्थिरतातिर धकेलेको बताए। नेपालमा समृद्धि देख्न नचाहनेले सरकारमा परिवर्तन चाहेको बादलले बताएका छन्। अदालतको निर्णय होस् वा नेकपाकै नेताका भाषणले नेपाल अरुको खेलमा परेको उनको आशय थियो। समाजवाद र समाजवादका विरोधी, राष्ट्रवाद र राष्ट्रियताविरोधीको संघर्षले अहिलेको राजनीतिक परिघटना बनेको थापाले बताए।
‘पूर्व कमरेडहरुको भनाइ, र जसरी कम्फर्टेबल सरकारको बारेमा कुरा आएको छ, त्यसैले देखाउँछ अहिलेको अवस्थाको कारण,’ उनले भने। उनले नेताकार्यकर्तालाई राष्ट्रवाद वा विरोध कता लाग्ने कित्ता प्रस्ट पार्न आग्रह गरे। अहिले नेपाली जनताहरु एकता, समृद्धि चाहेपनि पार्टीकै केही नेताहरु फुटको पक्षमा उभिएको थापाको तर्क थियो। पार्टीको अध्यक्षलाई नेतृत्वबाट हटाउनुपर्छ, कारबाही गर्नुपर्छ भन्दै फुटमा लागे। ‘एकथरी कमरेडले आरोपपत्र निकाले, त्यो भनेको नेतृत्व हत्याउने हो, फुटको विचारलाई अघि बढाउनु हो,’ उनले भने, ‘हामी एकताको पक्षमा छौं, एकताले मात्र समृद्धिको दिशामा लान सक्छौं।’
अब ओलीइतर नेताहरुले आफ्नो गल्ति मानेर फर्किएमात्र पार्टी एक हुनसक्ने बताए। नेताहरु गलत बाटोमा हिँडिरहेको र यो सच्चिने बाटो रहेको बादलले बताए। भदौ २६ को निर्णयहरुलाई अर्को पक्षले कार्यान्वयन गरे पार्टीकै नेतृत्वमा सरकार समृद्धिको दिशामा जान सक्ने उनको भनाइ थियो। नेकपा अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै उनी कम्फर्टेबल सरकार बनाउन लागेको बताए।