काठमाडौं, असोज २० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन्।
नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले यसपटक आफू सभापति पदमा लड्ने दोहोर्याउँदै भने, ‘प्रजातन्त्र जोगाउनुपर्यो। पार्टी संस्थागत गर्नुपर्यो। जनतालाई सहयोग गर्नुपर्यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’
१३औँ महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको स्मरण गर्दै सिंहले यसपटक काठमाडौँबासीले नेपाली कांग्रेसको नेतृत्व गर्न पर्ने पनि बताए।
‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?,’ उनले भने, ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’
नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको उनको आरोप छ। सभापति शेरबहादुर देउवाले चार वर्षसम्म पार्टीको विभागसम्म गठन गर्न नसकेको उनले बताए।
नेपाली कांग्रेसमा गुट नै गुटले पार्टी विभाजित देखिँदा पनि जनताले खोजेको बताएका सिंहले आफूले नेतृत्वको अवसर पाए पार्टी एक ढिक्का बनाउने पनि उद्घोष गरे।
नेताको छोराछोरी वा परिवारको मान्छै भन्दैमा क्षमतावानहरुलाई पाखा लगाउन नहुने उनले बताए।
‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो। म पहिले महामन्त्री जितेको हुँ। बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ’, उनले थपे, ‘गणेशमानको छोरा भन्छन् तर नेतृत्वमा आउन परिवादबादको ट्याग लगाउने ?’


























